काठमाडौं । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति बारे सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता रहेको प्रस्ट्याएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमालगोरखा पत्रकार समाजका पदाधिकारीसँगको भेटमा बोल्दै उनले त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामा रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकीलाई कुलपतिले उपकुलपतिमा नियुक्ति गरेको भन्दै बधाई तथा शुभकामना आदानप्रदान भइरहेको छ ।
शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले बुढाथोकीसहित पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल र त्रिवि गणित विभागका पूर्वप्रमुख टंकनाथ धमलाको नाम सिफारिस गरेको छ । यी तीनमध्ये १ जनालाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था त्रिवि ऐनमा छ ।
त्यस्तै, भेटमा प्रधानमन्त्रीले पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरेका थिए । आफू गोरखा निर्वाचत क्षेत्र नम्बर २ बाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिने बताएका थिए ।