November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

केपी ओलीको चुनाव घोषणा विषको घैटोमाथि अमृत राखेर पिएजस्तै-डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपीओलीद्धारा गरिएको चुनाव घोषणा विषको घैटोमा माथिबाट थोरै अमृत राखेर पिएजस्तो रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनका विरुद्धमा पार्टीद्धारा बुधबार देशका ७७ वटै जिल्लामा आयोजित जनसभा अन्तर्गत टिकापुरको जनसभालाई सम्बोधन गर्दै डा. भट्टराईले अब चुनाव हुने र चुनावमा गएपछि कांग्रेस नै पहिलो पार्टी हुन्छ र सरकार चलाउँछ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गर्दै यो केपी ओलीको सर्वसत्तावाद सासन कायम गर्नका लागि चुनावको घोषणा भ्रम मात्रै रहेको समेत बताए ।

‘हिजो ज्ञानेन्द्र साहले पनि चुनाव घोषणा गरेका थिए । त्यो चुनाबमा तपाइ हामीले भाग लिएनौ, पंचायतले पनि चुनाव घोषणा गरेको थियो हामीले भाग लिएनौं । यो चुनाव त विषको घैटामा माथि अलिकति अमृत राखेर पिएजस्तो केपी ओलीले आफूलाई सर्वसत्तावादी सासन कायम गर्ने हो । चुनाव त एउटा भ्रम मात्रै हो ।’

Advertisement

डा. भट्टराईले न्यायालयको सम्मान तथा आस गर्नुपर्ने बताउँदै यसको ढाँचा परम्परावादी र प्रक्रियामुखी रहेकोले सत्य र न्यायको पक्षमा फैसला हुन्छ भन्ने ढुक्क नभएको बताए ।

‘त्यहि खबरदारी गर्नको निम्ति अनि सर्वोच्च अदालतका न्यायाधिशको कानमा पार्नका निम्ति पनि हामीले यो कार्यक्रम गरेका हौं,’ सम्बोधनका क्रममा डा. भट्टराइले भने, ‘ हामी जनप्रतिनिधिहरु बसेर यो संविधान हामीले बनाएको हो । हामीलाई थाहा छ, संविधानका परिकल्पनाकार, मस्यौदाकार र संविधान समितिको सभापति भएकोले मलाई एक-एक अक्षर थाहाछ ।’