काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ठूलो समस्या पीत पत्रकारिता भएको बताएका छन्। सञ्चार माध्यममा प्रकाशित/प्रशारित हुने सामग्रीप्रति असन्तुष्ट सुनिएका उनले सञ्चार माध्यमले झुटो छाप्ने गरेको बताए।
‘अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो। महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिकार र सञ्चार माध्यमहरु। राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्। अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न,’ बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय प्रेस संगठनको भेलामा उनले भने।
उनले अहिले सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको बताए। ‘यो काम राष्ट्रको राष्ट्रको हितको पक्षमा छँदैछैन। कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम। तर कुरा के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ। अथवा जब मान्छे आत्मा बेच्छ। त्यसपछि नर्क पर्छ।’
प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैं पछि लाग्ने बताए।