November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

अख्तियार आयुक्त पाठकलाई घुस दिने न्यौपाने ३५ लाख धरौटी तिर्न नसकेपछि कारागार चलान

काठमाडौं: नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् । न्यौपाने जिल्ला अदालत भक्तपुरमा ३५ लाख धरौटी बुझाउन नसकेपछि बिहीबार कारागार चलान भएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बिहीबार न्यौपाने अदालतको आदेशसँगै डिल्लीबजार कारागार चलान भएको जानकारी दिइन् । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो ।

न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए । उनलाई गत मंसिर १० गते चण्डोलस्थित निवासबाटै केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।

Advertisement

न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत भक्तपुरमा ठगी मुद्दा दायर गरेको थियो । त्यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको थियो । उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दा थियो ।

न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ। भट्टराईको नाममा मात्र रहेको बिगो भने ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ मागिएको थियो।

उक्त मुद्दामा ललितपुर महानगरपालिका-९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी थिए।

भट्टराई पाठकलाई ७० लाख घुस दिएको बिगोमा पक्राउ परेका थिए। यो घुस प्रकरणपछि आयुक्त पाठकले राजीनामा दिएका थिए।