August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

पाथीभरा केवकार विवाद: सरकारले बोलायो वार्तामा, प्रदर्शनकारीहरूले भने, ‘हामीलाई जानकारी छैन’

काठमाडौं। ताप्लेजुङ जिल्लाको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका पहिचान पक्षधरहरूलाई सरकारी वार्ता टोलीले वार्तामा बोलाएको छ । 

आज गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले विज्ञप्ति जारी गर्दै उनीहरूलाई समस्या समाधान गर्न वार्ता आउन आग्रह गरेको हो । 

‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनको लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ’, सहसचिव भट्टराईले भनेका छन् । 

Advertisement

तर यसबारे आफूहरू अहिले जानकार नरहेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बताए । ‘हामी त अहिले पनि प्रतिकारमै ब्यस्त छौं । यसबारे जानकारी छैन ।’

वार्ताको लागि आह्वान गरिएतापनि संघर्ष समितिको पुरानै अडान परिवर्तन नभएको अध्यक्ष येक्तेनले बताए । ‘हाम्रो पुरानो अडान फेरिएको छैन । र, बाँकी कुराका लागि हामी बीचमा सल्लाह भएको छैन।’

यसअघि पनि सरकार र आन्दोलनकारीबीच वार्ता भएकोमा सहमति नजुटेपछि वार्ता भंग भएको थियो।

रिपोर्टिङका लागि पाथीभरा क्षेत्रमा पुगेका पत्रकारहरूमाथि पनि आक्रमण भएको आन्दोलनकारीहरूले बताएका छन् । गोल्डेन टिभीका संचालक अनुप योङ्हाङ, रेवन राई, खेम देवान, बिक्रम लिम्बू, चन्द्रमान राई, निश्चल क्षेत्री, दिलकुमार लावती लगायतलाई यातायात मजदुरहरूले हातपात गरेको बताइएको छ ।

‘खोसिएका क्यामेराहरू फिर्ता भए तर फेरि अर्का पत्रकार कुसल किरातीमाथि आक्रमण भएको छ’, अध्यक्ष येक्तेनले बताए ।