काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको छ ।
कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिने लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ । त्यस घटनामा तीन जनाको मृत्यु भएको, एकजना घाइते समेत भएका थिए ।
कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरूमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो ।
सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो । केन्द्रीय कारागार नख्खुमा कारागार चलान गर्दा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।
तर उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए । त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ ।
उनी हालै धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष भएका थिए ।