August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

इद हर्षोल्लासका साथ मनाइदै

काठमाडौं । अरबी पात्रोको इद उल फित्र पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्।

हजारी पात्रो अनुसार नवौं महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज अदा गरी, ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ।

विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना सदस्यलाई आशीर्वाद दिने चलन छ। पाहुनालाई सेवई, खजुरजस्ता परिकार खुवाउने परम्परा पनि रहेको छ।

Advertisement

यो पर्वमा दानको विशेष महत्व हुन्छ। आफ्नो क्षमताअनुसार दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यसलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने गरिन्छ।

कुरान अनुसार, प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ। साथै, प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको रकम दान गर्ने चलन छ, जसलाई सत्कार फितर भनिन्छ। यो दान गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने मान्यता छ।

एक महिनाअघि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्दै आएका थिए। यसलाई आत्मशुद्धि र पापबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरिन्छ।

इदको अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाउने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने गर्छन्। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

प्रदेश प्रमुख परशुराम खापुङद्वारा इदको शुभकामना
इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको सुखद् अवसरमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देश दिनुहुँदै प्रदेश प्रमुख खापुङले भनेका छन् –“इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाडको रूपमा रहेको ईद–उल–फित्र पर्वलाई एक आपसमा रहेको रिस, राग र द्वेषलाई बिर्सेर खुशी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र पारिवारिक मिलनको रूपमा खुशी र हर्षोहल्लासपूर्वक मनाइने गरिन्छ ।”

त्यसैगरी यस पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, समझदारी, समन्वय, मेलमिलाप एवं भाइचारा सम्बन्धका साथै राष्ट्रिय एकताको सोच अभिवृद्ध गर्न प्रेरणा मिलोस् भन्ने पनि शुभकामना व्यक्त गर्न चाहेको पनि प्रदेश प्रमुख खापुङको सन्देशमा उल्लेख छ ।

तस्बिरः साभार