काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझावसमेत दिए ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा बोल्दै उनले भने, “अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो । संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।”
जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा सभामुख अर्यालले जोड दिए ।