November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

निर्वाचन आयोगको स्पष्टीकरण: नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

काठमाडौं: नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार गर्‍यो । यससँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो ।

यो निर्णयसँगै ओली समूहका नेताहरुले आयोगले ओलीलाई प्रमुख पदाधिकारी मानेकाले आफूहरु आधिकारिक भएको दाबी गरेका थिए । तर आयोगले शुक्रबार दुवै समूहलाई छलफलमा बोलायो । यद्यपि प्रचण्ड–माधव समूहले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै केही दिन समय दिन आग्रह गरेको छ ।

Advertisement

निर्वाचन आयुक्त ईश्वरी पौडेलका अनुसार ओली समूहका नेताहरु चिया गफ मात्र भएको छ । उनका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्नेछ ।

र एउटा पक्षले त हामीलाई आधिकारिक भनिसक्यो भनेर दाबी गरेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’