इलाम । अनाथ बालिका करणीको आरोपमा अनाथालयकै अध्यक्ष र सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–९, गोलाखर्कस्थित राहसल बाल अनाथालयका अध्यक्ष र सचिव रहेका छन् । उनीहरुलाई सोही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

सचिव कवीन्द्र राई जबर्जस्ती करणीमा आरोपमा पक्राउ परेका हुन् भने अध्यक्ष राजेन्द्र चौहानलाई प्रहरीले जबर्जस्ती करणी उद्योगको आरोपमा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सचिव राईले त्यही अनाथालयमा बस्ने १३ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको आरोप छ । अनुसन्धानको क्रममा अध्यक्ष चौहानसमेत तानिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। सचिव राईलाई गत बिहीबार र चौहानलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए । ‘पीडित बालिकाले नै घटनाबारे बताएपछि आरोपीहरू पक्राउ परेका हुन्,’ एसपी श्रेष्ठले भने, ‘थप अनुसन्धान हुँदैछ ।’
सडक, बजार, गल्ली, जंगलमा भेटिने अनाथ बालबालिकालाई यहाँ राख्ने गरिएको छ । अहिले अनाथालयमा ८ बालक र ८ बालिका छन् ।