झापा । जिल्लाको कनकाई नगरपालिका–३ सुरुङगास्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न आएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति पुर्याएको छ । सोमवार विहानको राती सहकारीभित्र पसेको समुहले मुल गेट, सिसि टिभी फुटेज, लगायात सबै ताला तोडी क्षति पुर्याएको हो ।
उक्त समुहले सहकारीको आर्थिक कारोवार हुने कक्षको ताला तोडन असफल भएपछि माथिल्लो तलामा गई आगजनि गरि क्षति पुर्याइदिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताए । सो समुहले सहकारीको आर्थिक कक्षको समेत सबै तालाचाबी बिगारिदिएको थियो ।
सहकारीको आफ्नै भवनमा अन्य व्यापारिक पसलहरु रहेको भएपनि उक्त समुहले सहकारीलाई लक्षित गरेर मात्रै चोरी प्रयास र आगजनी गरेको हो । आगलागिबाट नगद चोरी हुन नपाएपनि सहकारीको तेस्रो तला जलेर क्षति पुगेको छ भने कागजात समेत जलेको छ । चोरी प्रयास गर्नेहरु सहकारीको छानोमा रहेको टिन फोरेर माथिल्लो तलाबाट भित्र पसेको पाइएको छ ।
सहकारीको आगलागि प्रहरी, स्थानीय र बिर्तामोड, मेचीनगर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।
केहिदिन पहिलेमात्रै सुरुङ्गामै सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय साँझमै फोरेर नगद २ लाख ७० हजार चोरीमा संलग्नलाई प्रहरीले केहि घण्टामै नगद सहित पक्राउ गरेको थियो । उक्त चोरी घटनाका दोषीलाई कानुनी कार्वाही गर्न नपाउदै यस क्षेत्रकै पुरानो र सम्पन्न मध्येमा मानिने भगवती सहकारीको चोरीको असफल प्रयास भएको छ ।