काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीहरुलाई बीच बाटोमै रोकिएको छ । सबै गाडीहरलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका हुन् ।
राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।
हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का काँग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने गरेको घोषणामा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको जनाइएको छ । स्रोतका अनुसार आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।
यस्तै, राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ । स्थानीय पीडितको नाममा राज्यसँग मिलेर राजनीति गर्नेहरूलाई आजबाट कुदुले बन्चरे ल्यान्डफिल साइडमा प्रवेश निषेध गरिएको एक स्थानीयले बताए ।
स्रोतका अनुसार अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् । राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले वार्ता भैरहेको छ ।