काठमाडौं । काठमाडौं नयाँ वानेश्वरमा आत्मदाहको प्रयास गरी मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारले सरकारसँग आफ्ना मागहरुबारे लिखित प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गरी माग सम्बोधन माग गरेका हुन् । आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गर्न र त्यससम्बन्धमा सरकारले लिखित प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।
उनले मृत्युपत्र फेसबुकमार्फत सार्वजनिक गर्दै आत्मदाह गरेका थिए । उनको शव अहिले टिचिङ अस्पताल महाराजगञ्जमा छ । घटनाबारे उचित छानबिन गरी न्याय दिने वातावरण नबनेसम्म आचार्यको पोष्टमार्टम नगर्ने बताएका छन् ।आचार्यकी श्रीमती नानुका अधिकारीका मागहरु:
सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार मार्फत माननीय गृहमन्त्रीज्यू,
सिंहदरवार काठमाडौं ।
सम्माननीय ज्यु,
विषय मागपत्र पेश गरेको सम्बन्धमा
सम्पूर्ण नेपालि देश विदेश स्थित रहनु भएका शुभचिन्तकहरूलाई अवगत नै भएको विषय नै हो९ बानेश्वर स्थित भएको कृषि युवा व्यवसायीको बिद्रोह स्वरूप गरेको आत्मदाह । प्रस्तुत सन्दर्भमा हामी परिवारजनलाई जति पिडा भएको छ यहाँहरुलाई शव्दमा व्यक्त गर्ने कुरा नै रहेन । मृतकको परिवारजन गरिखाने स्थितिमा रहन राज्यले तत्कालिन सहयोग युवा व्यवसायीलाई राज्यले गर्नुपर्ने सम्बोधन लगायतका मागहरू देहाय अनुसार प्रस्तुत गर्दछौ ।
१। स्व। प्रेमप्रसाद आचार्यले उठाउनु भएको २५ बुदे सुझावहरू मागहरू सम्बोधन हुनुपर्ने ।
२। स्व। प्रेमप्रसाद आचार्यले बाध्य बनाएर आत्मदाह गर्न उत्प्रेरित गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने ।
३। किसान र कृषिउपजलाई विना अवरोध र नगदमा नै कारोबार गर्ने व्यवस्था मिलाउनु पर्ने ।
४। बैक तथा वित्तीय संस्थाले गरिरहेको चर्को व्याजदर कम गर्ने तथा सरल कर्जा सहज रूपमा उपलब्ध गराउनुपर्ने ।
५। स्व। प्रेमप्रसाद आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने ।
६। नावालक सन्तानलाई उनीहरूले चाहेको विद्यालय शिक्षा देखि निशुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने ।
७। स्व। प्रेमप्रसाद आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने ।
८। राज्यले प्रदान गरेका कृषि अनुदानको निश्पक्षताको विषयमा अनुसन्धान गर्नुपर्ने ।
९। कुनैपनि युवाले राज्यको नीतिको कारणले मृत्युवरण गर्नुपर्ने अवस्था सृजना नहोस् ।
१०। आर्थिक लेनदेन तथा उधारो बजार सम्बन्धी कानून तत्काल ल्याउनुपर्ने ।
माथि उल्लेखित मागहरू सम्बोधन हुने लिखित प्रतिबद्दता राज्यका तर्फबाट नभएसम्म मृतकको लाश टिचिङ अस्पतालबाट नउठाउने र अन्तिम संस्कार समेत नगर्ने जानकारी गराउँदछौ ।