काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहकारिता ग्रास रुटको डेमोक्रेसी भएको बताए । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसहरूको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताएका हुन् ।
उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई नेपालको संविधानले पनि अगाडि सारेको भन्दै घर घरमा र विदेशमा छरिएका स साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिए ।
अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै अध्यक्ष नेपालले हालै मात्र सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए ।
गत भदौमा पार्टीको जनसङ्गठनको रुपमा स्थापित भएको समाजवादी सहकारी संगठन नेपालका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमै अर्थतन्त्र संकट भएको सन्दर्भमा सहकारीहरुले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।