November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मित्र फेर्न सक्छौं, तर छिमेकी फेर्न सकिन्नः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मित्र फेर्न सक्ने तर छिमेकी फेर्न नसकिने बताए । नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमका नेपालस्थित प्रतिनिधिसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र नीतिको सम्बन्धमा अत्यन्त जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताएका हुन् ।

उनले नेपाल कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा गठबन्धनको पक्षमा नभएर सैन्य मामिलामा असंलग्नताको नीति अवलम्बन गरेको बताए । उनले छिमेकी देशको संवेदनशीलतालाईसमेत ध्यानमा राख्दै नेपालको स्वाभिमान र अस्तित्वमाथि हस्तक्षेप नहोस् भन्ने कुरामा केन्द्रित हुनु जरुरी रहेको बताए ।

उनले नेपालको स्वाभिमानको मामिलामा आफूहरू सजग र सतर्क भएको भन्दै नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन आफूहरूले पार्टीको पुनर्गठन गर्न बाध्य भएको बताए ।

Advertisement

मिटरव्याज पिडीतहरुको प्रसङ्ग निकाल्दै अध्यक्ष नेपालले सामन्तवादको अवशेषको रुपमा रहेका यस्ता खाले प्रवृत्तिको विरुद्धमा सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममासमेत उल्लेख गरिएको र नीति नै बनाएर त्यस्ता खाले समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।