November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन् ।

महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको बताए । उनले सामाजिक संजालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो घटना मात्र नभएर प्रवृत्ति भएको भन्दै अझै गहिरोसँग अनुसन्धान गर्न उनले आग्रह गरे । ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन,’ उनले भनेका छन् ।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायामाझीका बाबुछोरा, नेपाल सरकारका सचिव टोकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका बाउछोरालाई पक्राउ गरेको छ ।

बिहीबार भैरहवाबाट पक्राउ परेका राइमाझीलाई काठमाडौं ल्याउने तयारी रहेको स्रोतले जनाएको छ । उनी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यसअघि उनका छोरा सन्दिप बुधबार बुटवलबाट पक्राउ परेका थिए । सन्दिपलाई आज काठमाडौं ल्याइपु¥याइएको छ ।
उनीहरुलाई नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो ।