काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता ‘राष्ट्रघाती’ भएको भन्दै त्यस्तै सम्झौता रद्द गर्नुपर्ने माग गरेको छ।
युवा संघका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यस्तो सम्झौताले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाडसमेत भएको बताएका हुन्।
बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकबाट भएको निर्णयमध्ये, नेपालको स्थानीय तहमा ‘उच्च प्रभावयूक्त सामुदायिक विकास योजना’ कार्यक्रमअन्तर्गत सोझै भारत सरकारले २० करोड रुपैयाँ दिन सक्नेगरी भएको सम्झौताले स्वाभिमानी, देशभक्त र स्वाधीन युवा एवम् समस्त नागरिकको ध्यानाकर्षण भएको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।