काठमाडौं- प्रधानमन्त्रीलाई संविधानमा नलेखिएका कस्ता–कस्ता अधिकार छन् भनेर न्यायाधीशले प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार न्यायाधीश अनिलकुमार सिन्हाले यस्तो प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीको तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता सुशील पन्तलाई न्यायाधीश सिन्हाले सोधे- ‘विघटनको अधिकार धारा ८५ ले दिएको छ भन्नुभयो। यो संविधानले प्रधानमन्त्रीलाई कस्ता कस्ता अधिकार दिएको छ ? संविधानमा नलेखिएका कस्ता अधिकार दिएको छ ? केही उदाहरण भन्न सकिन्छ ?
वरिष्ठ अधिवक्ता पन्तले संसदीय अभ्यासमा प्रधानमन्त्रीलाई विशेष अधिकार हुन्छ भनेपछि न्यायाधीश सिन्हाले संविधानमा नलेखिएका ती अधिकार के के हुन् भनेर सोधेका थिए। सर्वोच्च्मा सोमबारदेखि सरकारी पक्षको बहस चलिरहेको छ।