पाँचथर । पहिरोले घर पुरिदा घाइते भएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको मृत्युु भएको छ । उनको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा आइतबार दिउँसो २ बजे निधन भएको हो ।
फालेलुङ-३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा बस्दै आएकी ९ वर्षीया जुना मध्यरातमा घरमाथिबाट आएको पहिरोमा पुरिएकी थिइन् । स्थानीयले झन्डै ७ घण्टापछि उनको सकुशल उद्धार गरी उपचारका लागि सदरमुकाम पुर्याएको थियो । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएको खुलेको छ ।
यसैबिच बाढीले बगाँउदा पाँचथरका ५ जना बेपत्ता छन् । पाँचथर प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर फिदिम नगरपालिका १० का २८ वर्षीय सञ्जोग लोवा, हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम-५ घर भई हाल फिदिम-४ हेवा खोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ-७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा माझी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
