पाँचथरको कुम्मायक गाउँपालिका ४ स्थित साविक वडा नम्बर ६ रानीगाउँको रोटेपिङ डाँडामा ऐतिहासिक चतुरे मेला सम्पन्न भएको छ । ‘अनुशासन, पर्यटन प्रवर्द्धन र सामाजिक सद्भावसहित स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ लागेको उक्त मेलामा पुरुष नकआउट भलिबल प्रतियोगिता, धान नाच, साँस्कृतिक नृत्य, क्याराम बोर्ड खेल प्रतियोगिता भएको थियो ।
हाङमा पाङ्भेको ऐतिहासिक स्थल रोटेपिङ डाँडामा लाग्ने यस मेलामा जिल्लाका विभिन्न स्थानबाट आएका मेला तथा खेल प्रेमीले मनोरञ्जन लिएका थिए ।
सोमबार सम्पन्न सो मेलामा भलिबल खेल तर्फ पिवाइसी फाकतेप युवा समूह पहिलो र जेवाइसी युवा समूह लामटार दोस्रो भएका थिए । विजेता बनेका प्रथम खेलाडीले ३३ हजार ३३ रुपैयाँ र दोस्रो हुने खेलाडीले २१ हजार २१ रुपैयाँ नगद र ट्रफी मेडल पाएका छन् ।
यसैगरी नृत्यतर्फ सनराइज बोर्डिङ स्कुलका कलाकारले पहिलो पुरस्कार हात पारे भने नव युवा सांस्कृतिक समूह दोस्रो र सयपत्री सर्वोत्तम मुखी युवा समूह तेस्रो भएका थिए । विजेता सांस्कृतिक समुहहरूले नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी धाननाचतर्फ सेकमारी चोत्लुङ युवा समूह प्रथम र फक्ताङ्लुङ युवा समूह दोस्रो भएको मेला आयोजकले जानकारी दिएको छ ।
कुम्मायक ४ रानीगाउँको वडा कार्यलयको आर्थिक सहयोगमा आयोजना गरिएको सो मेलामा कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्र बहादुर खड्का, वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फेले मेलाको परिसरमा रहेको आकर्षक बकसे पिङ खेली मेलाको उद्घाटन तथा समापन गरेका थिए । मेला कार्तिक २५ गते देखि २७ सम्म लागेको संयोजक किरण सम्बाहाम्फेले बताए ।
