November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

जसपालाई प्रधानमन्त्री आश्वासन : रेशम चौधरीलाई छुटाउँछौं, सरकारमा आउनुस्

२०७७ फाल्गुन २६

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधानिकता नपाएसँगै अल्पमतमा परेको आफ्नो सरकार टिकाउन हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीलाई छुटाउने आश्वासन जनता समाजवादी पार्टी (जसपा)लाई दिएका छन्।

सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएपछि नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएको छ। प्रधानमन्त्री ओली एमालेका अध्यक्षसमेत हुन्। 

प्रधानमन्त्रीका तर्फबाट जसपाका नेताहरुलाई भेटेका एमाले नेताहरुले यस्तो आश्वासन दिएका हुन्। ‘तपाईंहरु सरकारमा आउनुपर्‍यो, रेशम चौधरीलाई जेलबाट छाड्ने लगायत तपाईंहरुका माग हामी पूरा गर्छौं भनेर उहाँहरुले भन्नुभो’, जसपाको नेतृत्व तहमा रहेका एक नेताले भने, ‘हामीले चाहिँ पहिले हाम्रा जे जति माग छन्, ती पूरा गनुस् भनेका छौं।’

Advertisement

प्रधानमन्त्री ओलीका तर्फबाट एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जसपाका नेताहरुसँग छलफल गरेका थिए।

नेकपा अलग-अलग भएपछि माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ। त्यसो हुँदा सरकार जोगाउन प्रधानमन्त्री ओलीलाई जसपाको सहयोग नभई नहुने हुनसक्छ।