काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले दोस्रो पटक पनि संसद् भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सकुनीले जसरी दोस्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गरेका हुन्।
सकुनीले जस्तो दोस्रो पटक पासा फ्याँकेर संसद विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिए। संसदलाई पुरा कार्यकाल काम गर्न दिने अवस्था श्रृजना गर्न आग्रह गरे।
राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसदका प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिए।
उनले भने, ‘जालझेल गरेर सकुनीले पासा फ्याँके जस्तो गरेर दुवारा पासा फ्याँकेर, सकुनीले दुई पटक पासा फ्याकेका थिए। एक पटकको पासालाई द्रौपदीको प्रतिउत्तर निरस्त्र गरेको थियो। पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद विघटन गर्ने दिशामा कृपया नगइदिनोस्।’
व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटिलाई व्यक्तिले सही नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद् नै भंग गरेको टिप्पणी गरे।
‘म मेरै गोरुको बाह्रै टक्का भन्ने पक्षमा छैन तर मलाई शंका छ, हाम्रा शीर्षस्थ मानिस, मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठिक छु, मेरा कुरा सबै तिमीहरुले मान’ उनले भने।
‘शनिबार काठमाडाैंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको अंक गणितलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न खोजिए ‘सकौनीका गोटी’ नै फ्याँक्न बताउनुभएको थियो।
उनले भने, ‘संसदको अंकगणितको वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याँकिने छन्। गोटी नै फ्याक्सपछि सकुनीले के लडाउँछ?’
सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टीहरु थपिदै आएर चरम राजनीतिक संकटको रुपमा देखापरेको टिप्पणी गरे।