काठमाडाैं : नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भएको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको बताएका छन्।
आज फेसबुकमार्फत नेता भट्टराईले एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गर्न पनि आग्रह गरेका छन्।
उनले पार्टी एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगर्न र धैर्य पनि अनुरोध गरेका छन्।
आज बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा नेता नेपाल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीबीच झण्डै चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका थिए।