November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाल बारद्वारा वरिष्ठ अधिवक्ता वैद्य र मल्ललाई एमिकस क्युरीमा पठाउने निर्णय

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको छ।

उक्त मुद्दामा सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। वरिष्ठ अधिवक्ता वैद्य तत्कालिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन्।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए। उषा मल्ल पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन्। सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई एमिकस क्युरीमा पठाउने मंगलबार नै निर्णय गरेको छ।

Advertisement

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुँदैछ। जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्।