November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

तीन नेताबीच गठबन्धन कायम राख्ने र एमसिसी पास गर्ने उपाय खोज्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनका तीन नेता प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच गठबन्धन बलियो बनाउने र अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता ‘एमसिसी’ संसदबाट पास गर्न उपाय खोज्ने सहमति भएको छ । तीन नेताबीच बुधबार दिउँसो र साँझ गरी दुई चरणमा बालुवाटारमा भएको छलफलबाट सो सहमति भएको हो ।

एक नेताका अनुसार छलफलमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले वर्तमान सत्ता गठबन्धनलाई संसदीय चुनावसम्मै लैजान आफू प्रतिबद्ध रहेकोमा आश्वस्त गराएका छन् ।

त्यस्तै, देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीसँग तीन साताअघि भएको भेटमा सत्ता गठबन्धन तोड्नेबारे कुरा भएको भनी मिडियामा आएका समाचारमा कुनै सत्यता नभएको पनि बताएका थिए ।

Advertisement

प्रधानमन्त्री देउवा संसदमा जारी एमालेको अवरोध खुलाउनेबारे छलफल गर्न गठबन्धन दलका नेताहरूकै सुझावमा पुस २४ गते ओली निवास बालकोट पुगेका थिए । आफूले उक्त भेटमा संसद अवरोधबारे मात्र कुरा गरेको भन्दै देउवाले वर्तमान सत्ता गठबन्धनप्रति प्रतिबद्धता जाहेर गरेका एक नेताले जानकारी दिए । गठबन्धनप्रति प्रतिबद्धता जाहेर गरेपछि उनले एमसिसी संसदमा टेबल गर्न र सम्भव भएसम्म पास गर्न दुई नेताको सहयोग मागेका थिए ।

बैठकलगत्तै अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका नेता नेपालले पाँचदलीय गठबन्धन नटुट्ने बताएका थिए ।