November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

गणतान्त्रिक पार्टी खोल्दै कमल थापा

काठमाडौँ — यसै साता राप्रपा परित्याग गरेका कमल थापाले संवैधानिक राजतन्त्रको मुद्दा छाडेर नयाँ दल खोल्ने भएका छन् । धुम्बाराहीस्थित थापाको सम्पर्क कार्यालयमा भेला भएका राप्रपाका पूर्व नेताहरूले हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई पार्टीको मुख्य एजेण्डा बनाउने निर्णय गरेका हुन् ।

त्यसका लागि शनिबारसम्म आवश्यक तयारी पूरा गर्ने उनीहरूले बताएका छन् । ‘आजको भेलाले कमल थापाको नेतृत्वमा नयाँ दल खोल्ने निर्णय गरेको छ’ राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘नयाँ दलको मुख्य एजेण्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने छ ।’ बर्तौला हाल राप्रपामै रहे पनि कमल थापा निकट नेता हुन् ।

२०६२-०६३ को जनआन्दोलनपछि अधिकांश राजनीतिक दलहरूले संघीयता, लोकतान्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई आफ्नो एजेण्डा बनाउँदा थापा भने एकात्मक हिन्दु अधिराज्यको पक्षमा उभिएका थिए ।

Advertisement

मंसिरको तेस्रो साता भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि असन्तुष्ट रहेका थापाले त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले भूमिका खेलेको आरोप लगाउँदै आएका थिए ।

‘शनिबारसम्म आवश्यक तयारी पूरा गरेर निर्वाचन आयोगमा जाने तयारी भएको छ’ एक दिनअघि राप्रपा छाडेका उद्धव पौडेलले भने । पौडेलले नयाँ दलको दर्ताका लागि फागुन १ गते नै निर्वाचन आयोग जाने सम्भावना रहेको पनि बताए ।