November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड

बर्दिबास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए ।

बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’

Advertisement

आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गरे । पाँच करोड ५० लाख लागतको ४० कोठे र रु चार करोड ८३ लाख लागतको २१ कोेठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन् । अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गरेका हुन् ।

‘अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ’, उनले भने, ‘यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गर्न सकिन्छ ।’

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ ।