November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक कुनै व्यक्तिगत स्वार्थ छैन : रेनु दाहाल

काठमाडौं : भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको बताएकी छन्। 

भरतपुर महानगरमा दोस्रोपटक निर्वाचित भएपछि भरतपुरको सपना पूरा गर्ने साझा संकल्पमा हातेमालो गर्न सबैमा अपिल गरेकी हुन्। 

उनले फेसबुकमा लेखेकी छन्,‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, संघीय गणतन्त्रको सौन्दर्य हो। तसर्थ, हामीले निर्वाचनलाई स्वच्छ एवं लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिएका छौँ। निर्वाचनमा प्राप्त शिक्षकहरूबाट सिक्दै लोकतन्त्रलाई थप सुदृढ गर्न, संविधान र अग्रगमनको बाटो पछ्याउन हामी निरन्तर सक्रिय रहनेछौँ।’

Advertisement

उनले जित हारको मनोविज्ञानबाटमाथि उठेर समस्त भरतपुरवासीको साझा जनप्रतिनिधि बन्ने संकल्पमा दृढतापूर्वक उभिने अठोट गरेकी छन्। निर्वाचनका दौरानमा गरेको प्रतिवद्धता आगामी पाँच वर्षभित्र रोडम्याप हुने उल्लेख गरेकी छन्। 

प्राथमिकताका अधुरा योजना सम्पन्न गर्ने, पूर्वाधार विकास, मानवीय विकास, रोजगारी र स्वरोजगार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, विपन्न नगरवासीको जीवनस्तर वृद्धि लगायतको संकल्पहरू दोस्रो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जाहेर गरेकी छन्। 

उनले भनेकी छन्, ‘फेरि पनि भन्छु–भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन र रहनेछैन। अन्त्यमा, स्मार्ट भरतपुरको सपना पूरा गर्ने हाम्रो साझा संकल्पमा हातेमालो गर्न सबैमा अपिल गर्दै निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हृदयदेखि नमन गर्दछु।’