November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

दलित समुदायका लागि राज्यले राष्ट्रिय क्षमा दिवस मनाउनुपर्छ : मन्त्री तुम्बाहाम्फे

विराटनगर : प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सदियौँदेखि अमानवीय अत्याचार भोग्न बाध्य दलित र उत्पीडित समुदायका लागि राज्यले राष्ट्रिय क्षमा दिवस मनाउनुपर्ने बताएकी छन्।

सत्रौँ राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजित छलफल कार्यक्रममा बोल्दै राज्यमन्त्री तुम्बाहाम्फेले दमन शोषण गरेकै कारण दलित र उत्पीडित समुदाय सदियौँदेखि अमानवीय अत्याचार भोग्न बाध्य भएकाले उनीहरूको सम्मान र क्षतिपूर्तिका लागि राष्ट्रिय रूपमा सरकारका तर्फबाट क्षमा दिवस मनाउनुपर्ने बताएकी हुन्।

उत्पीडित दलित समुदायको सम्मानका लागि राज्यले उनीहरूको नाममा विद्यालय, अस्पताल, कलेज र विभिन्न प्रतिष्ठान स्थापना गर्नुपर्नेमा पनि राज्यमन्त्री तुम्बाहाम्फेले जोड दिइन्। भर्खरै सम्पन्न दोस्रो स्थानीय निकायको निर्वाचनमा राजनीतिक दलहरूले दलितलाई पूर्ण उपेक्षा गरेको पाइएकाले दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको प्रस्ट भएको भन्दै अधिकारका लागि अझै संघर्ष गर्न दलितलाई मन्त्री तुम्बाहाम्फेले आग्रह गरिन्।

Advertisement

राज्यमन्त्री तुम्बाहाम्फेले प्रदेश १ सरकारको आगामी नीति कार्यक्रम र बजेट सकेसम्म दलितमैत्री बनाउन प्रयास गरिरहेको जानकारी गराइन्। उनले गरिब दलितलाई निःशुल्क छात्रवृत्ति दिने, उद्यमशीलता विकास गराउने, अन्तरजातीय विवाह गर्ने आदर्श जोडी र उनीहरूलाई स्विकार्ने अभिभावकलाई सम्मान गर्नेदेखि, जातीय भेदभाव र छुवाछुतविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गराउन बजेट विनियोजन गर्नेबारे छलफल भइरहेको बताइन्।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दलितहरूको सोझोपनको राजनीतिक दल र सरकारी निकायले गलत फाइदा लिइरहेको आरोप लगाए। उनले संविधान र कानुनले दिएका हक अधिकार पनि दलितले पाउन नसक्नु विभेदकारी सोच भएको बताए।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ की निर्देशक नीतु बर्तौलाले सदियौँदेखि पछि पारिएका दलित समुदाय मूलधारमा नआएसम्म मानवअधिकारको परिभाषा सार्थक नहुने बताइन्। अधिकारकर्मी उमेश विश्वकर्माले प्रदेश सरकारको मात्र नभएर स्थानीय पालिकाहरूको बजेट समेत दलितमैत्री हुनुपर्नेमा जोड दिए। उनले दलितहरूका परम्परागत पेशालाई सरकारले आधुनिकरण गराएर उद्योगमा रूपान्तरण गराउनुपर्नेमा जोड दिए।

सोही कार्यक्रममा स्थानीय पालिकामा निर्वाचित मोरङका दुईवटा पालिकाका दुईजना वडाध्यक्ष सहित १७ जना महिला सदस्यहरूलाई सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले सम्मान पनि गरेकी थिइन्।