काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्।
६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि यस्तो गम्भीर आरोप लगाएका हुन्।
उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न समेत गरकेा छन्।
‘आज पनि फेरि म सुन्दैछु, आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भईराखेका छन् रे। तपाईँलाई म सुनाउन चाहन्छु–त्यो चलखेलहरु जो हुन्छन नि। यो चलखेलको पछाडि करोड होईन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ? त्यो आजीवन राजा हुने भईहाल्यो’, उनले भने।
उनले अहिले पनि देशमा हाहाकार भएको बताए। कहिल्यै किसानले भनेका बेलामा मल नपाउने भन्दै उनले जहिले पनि मलको हाहाकार किन भएको भनि प्रश्न गरे।