काठमाडाैं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।
मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन्।
उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन्। नेतृ कोईरालाले संग्रहालय बनाउन सके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरिन्।
उनले भनिन्, ‘जुटमिलमा एउटा १४ कट्ठाको बिल्डिङ छ त्यसलाई म्युजियमको रुपमा बनाऔँ। त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतैपनि पाउनुहुन्न। विदेशबाट त्यो बेलामा ल्याएका सामग्री अहिलेसम्म त्यहाँ यथावत छ। हामीले म्युजियम बनायौँ भने यो नेपाली कांग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ। अहिले प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई सङ्ग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ। ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाऔँ।’
नेतृ कोईरालाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन्।