November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र दिन एमालेको संशोधन प्रस्ताव

काठमाडाैं । नेकपा एमालेका सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपालमा निरन्तर सात वर्ष बसेको हुनुपर्ने प्रावधान राख्न नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

एमाले सांसदहरू भीम रावल, कृष्णभक्त पोखरेल, सूर्य पाठक, शान्तिमाया पाख्रिन लगायतले राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनमा जस्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष नेपालमा निरन्तर बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्न संशोधन दर्ता गराएका हुन्। 

२०७५ सालमा प्रतिनिधिसभामा दर्ता भएर राज्य व्यवस्था समितिले छलफलपछि संशोधन गरेर तयार पारेको प्रतिवेदनमा समेत वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपाली नागरिकसँग विवाह गरेको सात वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो।

Advertisement

वर्तमान सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ।

सरकारले संसदमा पेस गरेको नयाँ विधेयकमा वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्राप्त गर्न कुनै समयको पावन्दी लगाउने गरी प्रस्ताव गरेको छैन। 

संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा ५० सांसदले २९ वटा संशोधन दर्ता गराएका छन्।

विधेयकमा कुनै पनि कांग्रेसका सांसदले संशोधन पेस गरेका छैनन्। अधिकांश संशोधन नेकपा एमालेका सांसदहरूले दर्ता गराएका हुन्।