काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा कोभिड संक्रमणमा परेका अध्यक्ष नेपालको स्वास्थ्य स्थिति बारे जानकारी लिनुका साथै उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।
एकै दिनमा ३ लाख १० हजार बढी संक्रमण हुने गरेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा आज कोरोना मुक्त भएको भन्दै त्यस कार्यक्रमका राज्यले स्वास्थ्य क्षेत्रमा गरेको प्रगति भएको बताए ।
उनले सबै कोरियाली नागरिक र नेपाली नागरिक स्वास्थ्य रहुन् भनी शुभेच्छा व्यक्त गर्दै आगामी निर्वाचनमा एकीकृत समाजवादीले उल्लेख्य सिट र मत प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।
भेटमा विशेष गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको छ । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ ।
भेटमा अध्यक्ष नेपालले उत्तर कोरियाले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।