July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

एमालेका कारण प्रदेश १ को नामाकरणको अवसर गुम्दै छ: मन्त्री राई

बिर्तामोड । प्रदेश न १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेशको नामाकरण गर्ने अवसर गुम्दै गएको बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै मन्त्री राईले एमालेले पहिचानको मुद्दामा ढुलमुले चरित्र प्रकट गरेको र प्रदेशको नामाकरण गर्न तत्परता नदेखाएको बताएका हुन् ।

उनले आदिवासी जनजातिले पूर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नुपर्ने बताए । केपी ओलीले संसद विघठनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीबाट विद्रोह गर्नुपरेको उल्लेख गर्दै ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको भन्दै उनले विवेक नगुमाएको भए यो दिन नआउने बताए ।

उक्त केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय समिति घोषणा गरेको छ । भेलाले किराँत राई संघको अध्यक्षमा केसर चाम्लिङ राई र लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाक मेचे संघको अध्यक्षमा भोलानाथ मेचेलाई चयन गरेको छ ।

Advertisement

भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महासङ्घका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष कृष्ण चोङ्वाङ, जनजाति महासङ्घका उपमहासचिव बज्रकुमार राई, पार्टी झापा जिल्ला अध्यक्ष वेदराज रेग्मीले मन्तव्य राखेका थिए ।