November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सुवास नेम्वाङकाे क्षेत्रमा समाजवादीका राईले उम्मेदवारी दिने 

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन्।

युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको इलाम–२ मा उम्मेदवारी दिने बताएका छन्।

‘इलाम क्षेत्र नं. २ मा पुराना र दिग्गजहरुको सम्मान र अवकाश अपरिहार्य छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैँ क्रान्तिकारिता र नवीनताका लागि हुन्छ।’

Advertisement

लगातार चुनाव जित्दै आएका नेम्वाङलाई अवकाश दिन उम्मेदवारीको तयारी गरेको उनले उल्लेख गरेका छन्। ‘उम्मेदवारीबारे निर्णय त पार्टीले गर्ने हो, तर चुनावबाटै सुवास नेम्वाङलाई अवकाश दिन तयार छु’, राईले बताए।

इलाम–१ बाट भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुनाव लड्दै आएका छन्। खनालले आजै बुटवलबाट आफू अन्तिम पटक इलामबाट निर्वाचन लड्ने घोषणा गरेका थिए । खनाल निकट मानिने राईको घोषणालाई अर्थपूर्ण लिन सकिन्छ।