November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने भएको छ । केन्द्रीय समितिद्वारा गठित छानबिन कार्यदलले स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका घात, प्रतिघात र असहयोग गर्नेहरुलाई निलम्बन, निष्काशन र चेतावनीसम्मको कारबाही सिफारिस गरेको हो ।

कार्यदलका अध्यक्ष टंक राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका छन् ।

सोमबार प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले अनुशासन तोड्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए । उनले भने, ‘राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, अराजकतातर्फ जाने, अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्ने, दोषीलाई कारबाही नगरेसम्म पार्टी निर्माण र समाजवादतर्फ जाने बाटो सम्भव छैन ।’

Advertisement

अध्यक्ष दाहालले कार्यदलले चुनावमा घात गर्ने र अनुशासन तोड्नेलाई ‘निलम्बन, निष्काशन र चेतावनी’को सिफारिस गरिएको जानकारी दिए ।

कार्यदलले बिनापूर्वाग्रह काम गरेको प्रचण्डले बताए । यसले पार्टीलाई आफ्नो पार्टीलाई मात्र नभएर अन्य पार्टीलाई पनि केही न केही सन्देश दिने र देशमा राजनीतिलाई सही ढंगले अगाडि लैजान मद्दत गर्ने बताए ।

अध्यक्ष दाहालले प्रतिवेदनबारे पदाधिकारीहरूबीचमा छलफल हुने बताए । आवश्यक परे उक्त प्रतिवेदनलाई स्थायी समितिमा पनि छलफल गरिने उनको भनाइ छ ।