November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कार्यकर्तालाई माधव नेपालको  निर्देशन: आफ्नो निर्वाचन क्षेत्रमा लाग्नुस्

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका छन्।

युवा संघ नेपालले आजबाट आयोजना गरेको महाकाली  मेची जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता तथा कार्यकर्ताहरूलाई आआफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन् । अध्यक्ष नेपालले भने, ‘यो काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुहोस्, आ आफ्नो जिल्ला जानुहोस् , आ आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’

प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिकमा भोट खसाल्नै पर्ने भन्दै उनले , ‘जिल्ला जान मात्रै ठूलो कुरो होइन, तपाईं उम्मेदवार बन्ने हो कि होइन, त्यो ठूलो कुरा होइन । पार्टीको पक्षमा मत खस्ने कि नखस्ने कुरा ठूलो हो । त्यहाँ पार्टीको पक्षमा मत खसाल्न लगाउनुपर्ने हुन्छ । प्रत्यक्ष उम्मेदवार छ भने प्रत्यक्ष उम्मेदवारको पक्षमा, प्रत्यक्ष उम्मेदवार छैन भने पनि समानुपातिकमा भोट खसाल्नै पर्ने हुन्छ ।’

Advertisement

अध्यक्ष नेपालले  गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्ने पनि बताए  । मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौं भोट गुमाएको उनको भनाई थियो । 

अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर कसैको निम्ति भर्‍याङ मात्र नहुनेसमेत बताए । 

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिए,  जम्मै सीट आफूले लिने, उब्रेको हामीलाई दिने भन्नेकुरा  स्वीकार्य नहुने बताए  ।