झापा । युवा संघ नेपालको १५ गते भाद्रमा सुरु भएको महाकाली मेची युवा जागरण कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार अपराह्न बिर्तामोडमा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरे ।
नेता खनालले युवा जागरण अभियान एकीकृत समाजवादी पार्टी युवाहरु सहित नेपाली जनताको अभियान पनि भएको बताए । अव नेपाली जनता समाजवादी लोकतन्त्र तर्फ अगाडि बढ्न चाहेको भन्दै उनले समाजमा विद्यमान अन्याय अत्याचार शोषण दमन निमूर्ल गर्ने दिशातर्फ केन्द्रित हुनुपर्ने र त्यसको नेतृत्व समाजवादी लोकतन्त्रले मात्र गर्ने बताए ।
अभियान चलेका तराईका २० जिल्लाले समग्र देशको सिंगो आधा जनसंख्या ओगटेको भन्दै नेता खनालले यो अभियानको सन्देशले देशमा जुन प्रकारका शोषण दमन वर्गीय विभेद हल गर्न अव समाजवादी क्रान्ति जरुरी भएको र समाजवादी रूपान्तरण गर्दै वैज्ञानिक समाजवाद तर्फ रूपान्तरण गर्न एकीकृत समाजवादी एउटा वैकल्पिक शक्ति भएको सन्देश दिएको बताए ।