काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको आवश्यकता रहेको बताए । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको सिर्जनाका लागि गर्नुपर्ने र त्यसका लागि वाम एकताको आवश्यकता पर्ने बताएका हुन् ।
उनले भने, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकास गर्नुपर्छ । त्यसका लागि वाम एकता चाहिन्छ । अहिले पनि वाम एकता अपरिहार्य छ । अब हामीले नयाँ शिराबाट यसलाई अगि बढाउनुपर्छ । २०७४ सालमा मेरै प्रस्तावमा वाम एकता भयो र त्यसमा राम्रै देखिएकै हो । तर, त्यो टिकेन । यो निकै दुखद् हो ।’
यस्तै उनले अहिले पनि प्रतिगमनले फणा उठाएर बसेको र यदि आफूहरुले संघर्ष नगर्ने हो भने, सडकमा नजाने हो भने जत्ति नै बेला आफूहरुलाई डस्न सक्ने हुँदा सधैँ ख्याल गर्नुपर्ने पनि बताए ।
प्रचण्डले माओवादी आन्दोलन र आन्दोलनका नेतृत्वमाथि प्रहार भइरहेको पनि बताए । उनले भने, ‘प्रचण्ड सिद्धियोस् भनेर निकै प्रचार भइरहेको छ । यो कुनै प्रचण्ड वा माओवादीको कुरा होइन, यो सिङ्गो देशको कुरा हो । माओवादी जनयुद्धको आधारमा अहिले यत्तिका परिवर्तन भयो । यसलाई स्वीकार्नुपर्छ ।’