काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताए । बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने बताएका हुन् ।
‘आफूले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने, पटकपटक पाए ठीक, अरुले एकचोटी पाउँदा सकारात्मक नलिने हाम्रो समाजमा रोग छ ।’, उनले भने ।
नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको भन्दै अध्यक्ष नेपालले भने, ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हामफाल्ने प्रवृति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ ।’
अहिलेको उद्देश्य नै समाजवाद ल्याउने उदेश्य भएको भन्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो मुख्य उदेश्य नै समाजवादको उदेश्य हो । सबै खालका भेदभाव, अन्याय अत्याचार, हिंसा र अपमान अन्त्य गर्ने हो ।’