काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई मात्रामा बहुमत दिलाउन आह्वान गरेका छन् । मंगलबार ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका हुन् ।
सभापति देउवाले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे ।
देउवाले आगामी निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गरे । “संसद बचाउन यो गठबन्धन बनेको हो, यो राम्रो सँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ । यसका लागि सबैलाई धन्यवाद ।”
यस्तै, लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पार्दै भने, “हामीले अपनाएको राजनीतिक प्रणाली अनुसार नै अहिले आवधिक निर्वाचन पाँच वर्षमा हुन लागेको होे ।”