काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको विदेश विभागको पाँचौं बैठक सम्पन्न भएको छ । शुक्रबार सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सम्पन्न भएको हो ।
बैठकमा विभागका सदस्यहरुले विभागीय जिम्मेवारीका सन्दर्भमा आफूले खेलेको भूमिकाको बारेमा आफ्ना भनाईहरु राखेका थिए । साथै, विभागका सचिवबाट पार्टी स्थापना भएपछि विभागको तर्फबाट स्थापना भएका अन्तराष्ट्रिय सम्बन्धहरु, अन्तर्राष्ट्रिय भ्रमणहरु, अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न कार्यक्रमहरु, पार्टीलाई प्राप्त भएका अन्तर्राष्ट्रिय निमन्त्रणहरु साथै थप सम्बन्ध विस्तारका सन्दर्भमा सविस्तार रिपोर्टिङ भएको थियो ।
‘चुनावको परिणाम र हाम्रो दृष्टिकोण’ भन्ने एजेण्डामा सदस्यहरुले राखेका धारणा तथा जिज्ञासालाईसमेत समेटेर विभाग प्रमुख झलनाथ खनालले बैठकमा महत्वपूर्ण सारगर्भित भनाईहरु राखे । साथै, बैठकमा समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रमका बारेमा घनिभूत छलफल भएको थियो ।