November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी, अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को स्थायी समितिको बैठक जारी छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको १४ औं स्थायी कमिटीको बैठकमा नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आइतबार पनि जारी रहने बताईएको छ ।

बैठकमा अध्यक्ष , सम्मानित नेतासहित १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकको प्रारम्भमा अध्यक्ष नेपालले विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेका थिए ।

Advertisement

बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरे । त्यस विषयमा पनि बैठकमा छलफल जारी छ ।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा ,पार्टी निर्माणको दिशाका बारेमा ,पार्टी निर्माणको आगामी दृष्य, वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण ,संगठन निर्माणका योजना र वामपन्थी एकतासँग सम्बन्धित विषयमा विविध कोणबाट छलफल भईरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख खतिवडाले बताए । बैठक आइतबार बिहान ११ बजेबाट पुन सञ्चालन हुने बताईएको छ ।