November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

गृहमन्त्रीबारे एमाले र माओवादी केन्द्रको फरक मत, ओली रविको पक्षमा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता अपनाउनपर्ने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले गृह मन्त्रालयका विषयमा रास्वपाले केही समय धैर्यता अपनाउन पर्ने बताएका हुन् । उनले भने, ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन मानिरहेका छैनन् ।

Advertisement

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको जिम्मेवारी पाउने बताए । प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

तर उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् ।

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो ।

यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए । ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । यही सेरोफेरोमा बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने बताएका हुन् ।