November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

स्वतन्त्र पार्टी पुनः सरकारमा सहभागी हुने !

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सरकारमा सहभागी हुन लागेको छ । वर्तमान सरकारले तय गरेका साझा कार्यक्रम कार्यान्वयनका लागि भन्दै रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै फागुनभित्रमा रास्वपामा सरकारमा सहभागी हुन लागेको स्रोतको दाबी छ । ‘राष्ट्रपतिको निर्वाचनअघि नै रास्वपा सरकारमा सहभागी हुनेछ’, रास्वपा स्रोतले भन्यो ।

स्रोतका अनुसार सो पार्टीका सभापत रवि लामिछाने पनि राष्ट्रपति निर्वाचनलगायत विषय तय गर्नुपर्ने,न्यूनतम साझा कार्यक्रमको स्पिरिट र डेलिभरीजस्ता विषयलाई समेट्नु पर्ने लगायतका विषयहरु रहेकाले सरकारमा सहभागी हुने र उपनिर्वाचनपछि आफैँ पनि सरकारमा जाने भएकाले राष्ट्रपति निर्वाचन अघि नै सरकारमा सहभागी हुने संकेत गरिसकेको रास्वपा स्रोतको दाबी छ ।

Advertisement

राष्ट्रपतिको निर्वाचनअघि रविको पार्टीलाई सरकारमा सहभागी गराउन नेकपा एमालेले पनि जोड गरिरहेको छ । माओवादी केन्द्रका पुष्पमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट हुँदा र सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रको बैठकमा पनि रविको पार्टीलाई सरकारमा ल्याउन ओलीले जोड गरिरहेका छन् ।

तर प्रचण्ड भने रविको पार्टीलाई तत्कालै सरकारमा ल्याउने पक्षमा छैनन् । ‘एमालेले जोड गरिरहेको छ, प्रधानमन्त्रीले भने त्यति रुची देखाउनु भएको छैन’, माओवादीका एक नेताले भने ।

उनका अनुसार राष्ट्रपतिको निर्वाचनकै कारण एमालेले रविको पार्टीलाई साथमा लिन खोजेको हो । वर्तमान सरकार बनाउने क्रममा भागबण्डा मिलाउँदा राष्ट्रपति एमालेको भागमा, प्रधामन्त्रीमा आधा माओवादी आधा कार्यकाल एमाले , सभामुख एमाले र माओवादीलाई आधा–आधा कार्याकाल तथा उपसभामुख रास्वपालाई सहमति भएको थियो ।

सोही सहमतिअनुसार राष्ट्रपतिको निर्वाचन हुन बाँकी रहेको छ । तर माओवादीले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेपछि एमाले सशंकित भएको छ ।