काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाउन आग्रह गरेका छन् । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गदै पूर्वराजाबाट नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाउन आग्रह गरिएको हो ।
पूर्वराजाको सन्देशमा देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्मसहितको नेपाली पहिचानको सम्बद्र्धन गर्ने गराउने ध्येय नै मूलमान्यताको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।
पूर्वराजाले आफूले सहजै राजसंस्थाको नासो जनतालाई बुझाएको स्मरण गराउँदै त्यसपछि भने नेपालमा बेथिति निम्तिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । तर यो अवस्था लामो समयसम्म रहिनरहने सन्देशमा दाबी गरिएको छ । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेकोतर्फसमेत सचेत गराउँदै पूर्वराजाले यस्तो अवस्था अब धेरै अवधि नरहने चेतावनी दिएका छन् ।