काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालसँग भेटघाट गरेका छन् । शीर्ष नेताहरूसित भेटघाट गरेर भोट माग्ने सन्दर्भमा यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग पनि भेटघाट गरेका हुन् ।
प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेतासमेत रहेका यादवले सोमबार बिहान नेपालसँग भेट गरेका हुन् । उनीसँगै नेता प्रदीप यादव अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेर भेटघाट गरेका थिए ।
आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेर भोट माग्ने र भोलि अरू दलका नेताहरूसँग भेट गर्ने कार्ययोजना छ ।
उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदै छ ।