November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

समाजवादी जनवादमा पुगेपछि मात्रै आम नागरिकको विकास सम्भव छः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताए । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै नेता खनालले समाजवादी शिक्षा पद्धतिको विकास नभएसम्म विद्यार्थी र देशको विकास नहुने बताएका हुन् ।

शिक्षा क्षेत्रमा भइरहेको व्यापार रोक्दै निशुल्क शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको भन्दै उनले भने, ‘जबसम्म समाजवादी शिक्षा पद्धतिको विकास हुदैँन, त्यतिबेलासम्म विद्यार्थी र देशको विकास गर्न सक्दैनौं । त्यसैले आज जुन प्रकारले शिक्षामा व्यापार चलिरहेको छ, यसलाई रोक्नुपर्छ । शिक्षा व्यवस्था भनेको आम जनतालाई राज्यले निशुल्क रुपमा दिनुपर्छ । शिक्षा जनताको मौलिक हकको कुरा हो ।’

नेता खनालले अहिले पनि पुनः उत्थानवादीहरूको धार देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारलाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी रहेको बताए ।

Advertisement

दोस्रो पुँजीवादी यथास्थितिवादी धार छ, त्यसले जुन ढंगले २०६३÷०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ’, खनालको भनाइ छ । ‘अर्को दक्षिणपन्थी अवसरवादी धार पनि रहेको छ । र, त्यो धार, भन्न चाहिँ आफूलाई क्रान्तिकारी धार भन्ने गरेपनि यथार्थमा दक्षिणपन्थी अवसरवादी धार समात्ने गर्छ । उसले जबज भन्ने गरेको तर, जबज भनेको पनि पुँजीवादी जनवाद त्यसले पुर्याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारसँग पनि वैचारिक संघर्षहरु गर्नुपर्छ ।’ खनालको भनाइ छ ।

उनले देशव्यापी रुपमा पार्टीको संगठनलाई एक्लो पार्ने षड्यन्त्र भएपनि स्ववियू निर्वाचनमा देशको विद्यार्थी सङगठनभित्र चौथो संगठनको रुपमा विजय भएको भन्दै यो एउटा महत्वपूर्ण विजय भएको बताए ।

विद्यार्थी आन्दोलन देशको समाजवादी आन्दोलनको एउटा अभिन्न अंग बन्न सफल भएको जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन् । ‘अब जबजबाट समाजको अग्रगति सम्भव छैन, समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव छ ।’, उनले भने ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरूसँग वैचारिक संघर्षहरू गर्नुपर्ने बताए । नेता खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने पनि बताए ।