काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब समाजवादी कार्यभारसहित नयाँ मोर्चा बन्ने बताए । संगठन सुदृढीकरण अभियानअन्तर्गत मोर्चा संगठन विभागले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष नेपालले नयाँ मोर्चा बन्ने बताएका हुन् ।
उनले राष्ट्रिय राजनीतिलाई जनमुखी तथा प्रगतिशील रुपान्तरणको दिशामा अग्रसर बनाउन तेस्रो धारको त्यस्तो मोर्चाको आवश्यकता रहेको बताए । पार्टी एक मोर्चा, सरकार अर्को मोर्चा रहेको सन्दर्भमा तेस्रो मोर्चाका रुपमा समाजवादी केन्द्र निर्माण हुने संकेत भएको उनले बताए ।
अध्यक्ष नेपालले कसैको घमण्ड, वेवास्ता र अपमान आफूहरुलाई स्वीकार्य नभएको भन्दै सत्तारूढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्रले विभिन्न प्रदेश सरकार गठन र बजेट तयारीमा त्यस्तो व्यवहार प्रदर्शन गरेको सन्दर्भमा उनले त्यसो भनेका हुन् ।
पार्टीले पाएका मन्त्रालयबाट राम्रो काम गरेर जनताको मन जित्नुपर्ने भन्दै अध्यक्ष नेपालले पार्टी निर्माणको मुख्य शर्त संगठन सुदृढीकरण भएकोमा जोड दिए ।
उक्त कार्यक्रममा महासचिव घनश्याम भुसाल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रशिक्षण दिएका थिए ।
मोर्चा संगठन प्रमुख तथा उपमहासचिव डा.विजय पौडेलको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा पार्टीका सम्पूर्ण जनसंगठनका पदाधिकारी सहभागी छन् । ती जनसंगठनले आआफ्ना कार्ययोजना र प्रगति पेश गरेका छन् ।