काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सम्बोधनका क्रममा ‘पागलपन’ भन्ने शब्द प्रयोग गरेको भन्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । ‘पागलपन’ शब्द संसदीय शब्द नभएको भन्दै उनले उठेर आपत्ति जनाएका हुन् ।
आइतबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा सांसद श्रेष्ठले काम गर्ने तरिका नफेरी नतिजा फरक आउछ भन्ने सोच्नु पागलपनको परिभाषाबाहेक केही नहुने बताइन् ।
लगत्तै सांसद खतिवडालेभने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार चल्नुपर्छ । सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ । पागल र पागलपन भन्ने संसदीय शब्द होइन, यसलाई रेकर्डबाट हटाइयोस् ।’
सभामुख देवराज घिमिरेले भने सांसद श्रेष्ठले कसैलाई पागल नभनेको, उक्त शब्द उपमाको रूपमा मात्र प्रयोग गरेको श्रेष्ठलाई आफ्नो भनाई जारी राख्न अनुमति दिएका थिए ।